बरेङमा बसाइँसराइले बस्ती सुनसान
काठमाडाैं | फागुन ११, २०८१
तस्बिर फाइल
ढोरपाटन: पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् ।
बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा तीन सय ४७ परिवारका एक हजार दुई सय ८० जनाले गाउँ छोडेका छन् ।
गाउँमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छाडेका छैनन् । चालु आर्थिक वर्षको सात महिनामा दुई सय १० जनाले गाउँ छाडेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।
साउनयता ५५ परिवारले बसाइँसराइ गरेर अन्य ठाउँमा गएका हुन् । यस वर्ष सबैभन्दा धेरै वडा नम्बर १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना र सबैभन्दा कम वडा नम्बर ५ सुखौराका छ घरपरिवारका २० जनाले बसाइँसराइ लिएको क्षेत्रीको भनाइ छ । दुई वर्षको अवधिमा ४० परिवारका एक सय ३१ जना बसाइँसरेर बरेङमा आएका छन् ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बसाइँसराइ रोक्नका लागि पालिकाले जनताका आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय सेवा प्रवाहमा लागेको बताउनुभयो ।
पालिकाका सबै वडा र बस्तीमा सडक पुर्याउनका साथै खानेपानी, विद्युत् र स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिए पनि बसाइँसराइ रोक्न नसकिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।
एकीकृत बस्ती बसालेर नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्न थाले पनि सफल बन्न नसकेको उहाँले बताउनुभयो । युवालाई लघुउद्यम तथा घरेलु उद्योगमार्फत स्वरोजगार बनाउने गरी काम गरे पनि बसाइँसराइ नरोकिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।
“बसाइँसराइ रोक्नका लागि हामीहरूले धेरै प्रयास गर्यौँ, बस्ती–बस्तीसम्म सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच पुर्याएका छौँ, युवालाई रोजगारसँग जोड्ने काम पनि भएको छ”, उहाँले भन्नुभयो, “एकीकृत बस्ती बसालौँ भनेको कसैले मानेनन्, तर गाउँ छाडेर गए, बगाले भन्ने ठाउँमा पहिले करिब २० घर थिए, अहिले त्यो टोल नै खाली छ, बसाइँसराइ रोक्नका लागि हामी लागिरहेका छौँ ।”
बरेङबाट धेरैजसो स्थानीय चितवन, रुपन्देही, नवलपरासी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेर जाने गरेको अध्यक्ष शर्माको भनाइ छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

